फागुन २३, २०८२, जुम्ला – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा जुम्ला क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले निकै फराकिलो अग्रता कायम गर्नुभएको छ। पछिल्लो मतगणना अपडेट अनुसार शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारीलाई भारी मतान्तरले पछाडि पार्नुभएको छ। प्राप्त विवरण अनुसार शाहीले ६ हजार ७ सय ३८ मत प्राप्त गर्दा भण्डारीले २ हजार ९ सय ५६ मत मात्र पाउनुभएको छ। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही १ हजार ८ सय ८४ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ। आफ्नो गृह पालिका सिंजासहित जिल्लाका अन्य पालिकाहरूमा पनि शाहीले एकतर्फी जस्तै मत प्राप्त गर्दै आफ्नो जित लगभग सुनिश्चित गरिसक्नुभएको छ।
भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएर राजनीतिमा उदाउनुभएका ३४ वर्षीय शाही राप्रपाका केन्द्रीय प्रवक्ता समेत हुनुहुन्छ। यसअघि २०७९ सालको आम निर्वाचनमा पनि जुम्लाबाटै फराकिलो जित हासिल गर्नुभएका उहाँले यसपटक पनि आफ्नो लोकप्रियता र जुम्लामाथिको पकडलाई कायमै राखेको देखिएको छ। संसद्मा आफ्ना खरो र प्रस्ट अभिव्यक्तिका कारण सधैं चर्चामा रहने शाहीलाई जुम्लाका मतदाताले पुनः एकपटक बलियो जनमतसहित अनुमोदन गर्ने स्पष्ट संकेत देखिएको छ।
