तपाईंकै नगर पुतलीबजारका बासिन्दा समेत रहेका डा. धनञ्जय रेग्मीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा स्याङ्जा क्षेत्र नम्बर १ बाट सानदार जित हासिल गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रेग्मीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकाललाई १०,२१४ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो। अन्तिम मत परिणाम अनुसार रेग्मीले २९,०७१ मत प्राप्त गर्दा ढकालले १८,८५७ मत पाउनुभयो भने नेकपा (एमाले) का उम्मेदवार मीनप्रसाद गुरुङ १६,८०४ मतका साथ तेस्रो स्थानमा रहनुभयो। यस जितसँगै रास्वपाले स्याङ्जामा पनि आफ्नो बलियो उपस्थिति जनाएको छ।

रास्वपाबाट प्रत्यक्ष राजनीतिमा प्रवेश गर्नुअघि ५० वर्षीय डा. रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा परिचित हुनुहुन्थ्यो। पर्यटन र जलवायु परिवर्तनको क्षेत्रमा लामो अनुभव सँगालेका तथा जापानबाट विद्यावारिधि (PhD) गर्नुभएका उहाँ चुनावअघि करिब ६ महिनादेखि रास्वपाको सक्रिय राजनीतिमा लाग्नुभएको थियो। स्याङ्जाका गाउँगाउँमा पुगी मतदाताका समस्या सुनेर चुनावी अभियानमा होमिएका रेग्मीलाई यसपटक स्थानीय जनताले विश्वास गर्दै आफ्नो प्रतिनिधिको रूपमा संसद पठाएका हुन्।

SHARE THIS NEWS IN SOCIAL MEDIA