फागुन २३, २०८२, म्याग्दी – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा म्याग्दी (एकमात्र निर्वाचन क्षेत्र) बाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन सानदार मतान्तरसहित विजयी हुनुभएको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा राष्ट्रिय पहिचान बनाउनुभएका पुनले पुराना स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई भारी मतान्तरले पछाडि पार्दै ऐतिहासिक जित दर्ता गराउनुभएको हो।
क-कसले कति मत पाए? निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पुनले २२ हजार १४५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ८६९ मत मात्र प्राप्त गर्नुभयो। पुनले श्रेष्ठलाई १४ हजार २७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी ६ हजार ६५४ मतका साथ तेस्रो स्थानमा सीमित हुनुभयो।
मन्त्री पद त्यागेर चुनावी मैदानमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहनुभएका ७१ वर्षीय महावीर पुन ‘जेन-जी’ (Gen-Z) आन्दोलनपछि गठन भएको सरकारमा छोटो समयका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो। तर, प्रत्यक्ष रूपमा जनअनुमोदित भएर नीति निर्माण तहमा पुग्ने अठोट गर्दै उहाँले मन्त्री पदबाट राजीनामा दिएर गत माघ ६ गते म्याग्दी पुगी उम्मेदवारी दर्ता गराउनुभएको थियो। उहाँको स्वतन्त्र उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत समर्थन गरेको थियो। सुशासन, विकास र प्रविधिको विस्तारलाई मुख्य एजेन्डा बनाएका पुनलाई म्याग्दीका जनताले बलियो विश्वासका साथ संसद्मा पठाएका छन्।
आफैँलाई भोट हाल्न पाएनन् पुनले यस निर्वाचनमा एउटा रोचक पक्ष के रह्यो भने, म्याग्दीबाट चुनाव जिते पनि पुन आफैँले भने मतदान गर्न पाउनुभएन। उहाँको मतदाता नामावली चितवनको राप्ती नगरपालिका–८, खुरखुरेस्थित विद्यालयको मतदान केन्द्रमा रहेको थियो। चुनावी अभियान र व्यवस्थापनका क्रममा म्याग्दीमै व्यस्त हुनुपरेका कारण उहाँ मतदान गर्न चितवन जान नसक्नुभएको उहाँको सचिवालयले जनाएको छ।
यो ऐतिहासिक जितसँगै महावीर पुनले नेपाली राजनीतिमा इमानदारी र काम गर्ने इच्छाशक्ति भएका स्वतन्त्र व्यक्तिहरूलाई जनताले सहजै स्वीकार्छन् भन्ने प्रमाणित गरिदिनुभएको छ।
