फागुन २३, २०८२, काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले हालसम्म ५ वटा निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित गरेको छ। देशभर कडा प्रतिस्पर्धा चलिरहँदा कांग्रेसले आफ्ना केही बलिया आधार क्षेत्रहरूमा पकड जमाउँदै जितको संख्या ५ पुर्याएको हो। प्राप्त जानकारी अनुसार तेह्रथुम, रसुवा, दैलेख, मुस्ताङ र मनाङबाट कांग्रेस उम्मेदवारहरू संसद्का लागि निर्वाचित भएका छन्।
नेपाली कांग्रेसले जितेका ५ स्थान र विजयी उम्मेदवारहरूको विवरण:
१. तेह्रथुम–१ (सन्तोष सुब्बा): नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले तेह्रथुम क्षेत्र नम्बर १ बाट सानदार जित निकाल्नुभएको छ। कडा प्रतिस्पर्धाका बीच उहाँले हासिल गरेको यो जितसँगै नेपाली कांग्रेसले प्रत्यक्षतर्फ आफ्नो सिट संख्या ५ पुर्याएको छ।
२. रसुवा–१ (मोहन आचार्य): नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य १० हजार ६५६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै यस क्षेत्रबाट लगातार तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको हो।
३. दैलेख–१ (बासना थापा): दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी बासना थापा १२ हजार ३७२ मतसहित विजयी हुनुभएको छ। पहिलो प्रयासमै जित निकाल्नुभएकी थापाले ऐतिहासिक सफलता हात पार्दै १२ वर्षपछि कांग्रेसलाई यस क्षेत्रमा प्रत्यक्षतर्फको नतिजा दिलाउनुभएको हो।
४. मुस्ताङ–१ (योगेश गौचन थकाली): मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली ३ हजार ३०७ मतका साथ सानदार जित निकाल्न सफल हुनुभएको छ। उहाँले अघिल्लो निर्वाचनको विरासतलाई निरन्तरता दिनुभएको हो।
५. मनाङ–१ (टेकबहादुर गुरुङ): हिमाली जिल्ला मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछाडि पार्दै कांग्रेसको यस गढलाई सुरक्षित राख्नुभएको छ।
