फागुन २३, २०८२, बाँके – प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम मत परिणाम अनुसार बाँके क्षेत्र नम्बर-२ बाट नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ। उहाँले २४ हजार ६२६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठलाई ६ हजार ४५ मतको अन्तरले पराजित गर्नुभएको हो। श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुधान्सु कोइराला १७ हजार ५९० मतका साथ तेस्रो स्थानमा सीमित हुनुभयो। यस सानदार जितसँगै राईले यस निर्वाचनमा नेकपा एमालेको प्रत्यक्षतर्फको खाता खोल्न सफल हुनुभएको छ।

पूर्वमन्त्री समेत रहनुभएका मोहम्मद इश्तियाक राई निर्वाचनको केही समय अघि मात्र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो। आफ्नो क्षेत्रको विकास र पूर्वाधार निर्माणका एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिनुभएका राईलाई यसपटक स्थानीय मतदाताले विश्वास गर्दै संसद्‌मा पठाएका छन्। यसअघि २०७९ सालको निर्वाचनमा पराजित हुनुभएका उहाँको यो जितलाई बाँकेको राजनीतिमा एउटा बलियो ‘कमब्याक’ का रूपमा लिइएको छ।

SHARE THIS NEWS IN SOCIAL MEDIA